अर्काको त्यो हातबाट सिन्दुर पोते लाए पनि,
दैबले भेट तिम्रो मेरो ढिला गर्दै आए पनि ।

जीवनसाथि तिम र म हुदा कस्तो हुन्थ्यो होला ?
नभुल है मलाई तिमीले अर्कैको साथ पाए पनि ।

जोड्न पनि सक्दिन म छोड्न पनि सक्दिन म,
तिम्रो याद प्रत्यक पल मन मन्दिरमा छाए पनि ।

बैंश अनि जवानीको प्यास अन्तै मेटाएर ,
बैवाहिक सम्बन्धमा बधिदैनौं चाहे पनि ।

क्षणिक हुन्छन जस्तो लाग्छ तिम्रो मेरो माया प्रित,
जीवन भरि नछुटिने बाचा कसम खाए पनि ।

यहि त छ विड्वना संझीएर मान्दैन मन ,
बैधानिक हुन्न कहिले जति हामी धाए पनि ।

मुटु गाठो परि आउदा भक्कानिदा मन मेरो ,
भावनामा बहकिदै जति गजल गाए पनि ।  
                   खडानन्द तिमलसिना

0 comments:

Post a Comment